काठमाडौँ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलका प्रतिनिधिसँग छलफलको तयारी गरिरहेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार असोज ३० गते दलका प्रतिनिधिसँग छलफल आयोजना गरिनेछ ।

‘फागुन २१ को निर्वाचन सम्बन्धमा दलका प्रतिनिधिसँग छलफल गर्ने तयारीमा आयोग लागेको छ,’ भण्डारीले नेपालखबरसँग भने, ‘आयोगले आजै सम्बन्धित दललाई औपचारिक पत्र पठाउने छ ।’

उनले थपे, ‘शीर्ष दलहरू त स्वाभाविक रूपमा सहभागी हुने भएकाले उनीहरूलाई पत्र काटिन्छ । साथै कम्तिमा वडा सदस्य जितेको दललाई पनि छलफलमा बोलाइन्छ ।’

उक्त छलफलमा निर्वाचन कार्यतालिका कार्यान्वयनसम्बन्धी विषयमा पनि विचार-विमर्श हुनेछ ।

भण्डारीका अनुसार दलहरूले आयोगलाई सम्पर्क व्यक्ति तोकेका छन् र ती व्यक्तिसँग परामर्श गरी छलफल आह्वान गर्न लागिएको हो ।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दासमेत दलहरूसँग परामर्श र छलफल नभएको भन्दै नेताहरूले आपत्ति जनाइरहेका बेला आयोगले छलफलको मिति तय गरेको हो ।