२१ असोज, काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकमा हालैको बाढीपहिरोबाट उत्पन्न विपत्तिको समग्र मूल्यांकन र व्यवस्थापनबारे छलफल हुनेछ ।

बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको छ । जसमा विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा अत्यावश्यक सेवा सञ्चालन गर्ने, मृतक र बेपत्ता व्यक्तिका परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने, महामारीजन्य रोग नियन्त्रण गर्ने, अस्थायी आवास निर्माण लगायतका विषयमा छलफल तथा निर्णय हुने प्राधिकरणले जनाएको छ ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण आएको भारी वर्षासँगैको बाढी र पहिरोले हालसम्म ६० जनाको ज्यान गएको छ । सबैभन्दा ठूलो क्षति इलाममा भएको जनाइएको छ ।

बाटोघाटो, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा समेत करोडौंको क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री र सञ्चारमन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आमन्त्रित गरिएको छ ।

साथै, विज्ञ सदस्यका रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुने छन् ।