काठमाडौं, २० असोज ।
भिषण वर्षाबाट प्रभावित इलाम जिल्लाको अवलोकनका लागि आज जानुपर्ने भनिएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ र गृह राज्यमन्त्री ओम प्रकाश अर्यालको कार्यक्रम स्थगित भएको छ ।

दुवै मन्त्री आज बिहान ११ बजे काठमाडौंबाट भद्रपुर हुँदै हेलिकप्टरमार्फत इलाम जाने तयारीमा थिए । नियमित हवाई उडानमार्फत झापाको भद्रपुर पुगेर त्यसपछि हेलिकप्टरबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय गरिएको थियो ।

“इलाम जान बिहान ११ बजे प्रस्थान गर्ने भनिएको थियो । यदि ११ बजाअघि उडानको टिकट पाइयो भने अगाडि नै जाने भन्ने तयारी थियो,” गृहमन्त्रालय स्रोतले जानकारी दियो, “तर टिकट नपाइएकाले कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।”

मन्त्रालयका एक अधिकारीका अनुसार, राहत सामग्रीसहित चाँडै नयाँ मिति तय गरी मन्त्रीद्वयलाई इलाम पठाउने तयारी भइरहेको छ ।

असोज १८ गतेको अबिरल वर्षाले इलाममा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ । धेरै जना घाइते र केही अझै बेपत्ता छन् ।
प्रभावित क्षेत्रमा राजमार्ग, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचना ठूलो मात्रामा क्षतिग्रस्त भएका छन् ।