९ असोज, काठमाडौं ।

नयाँ शक्ति नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङलगायतका नयाँ पुस्ताका नेताहरूलाई एकजुट हुन सुझाव दिएका छन् ।

जेन-जेड आन्दोलनको म्यान्डेटअनुसार वैकल्पिक शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदाएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायत नयाँ पुस्ताका नेताहरू सहकार्य वा एकता गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”

उनले थपे, “सकेसम्म मिल्ने शक्तिहरूले साझा एजेन्डामा केन्द्रित भई एउटै शक्ति निर्माण गर्नु आवश्यक छ । त्यो साझा एजेन्डा भनेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । यसलाई आधार मानेर सुधार र परिष्कृत गर्न सकिन्छ, तर पछाडि फर्कने कुरा अस्वीकार्य छ ।”

डा. भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई वैकल्पिक शक्तिको साझा आधार बन्नु पर्ने बताए । “यदि एउटै ठाउँमा आउन सकिन्न भने पनि सहकार्य, मोर्चा वा वैकल्पिक गठबन्धन (अल्टरनेटिभ एलायन्स) बनाएर अघि बढ्न सकिन्छ,” उनले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिँदै ती दलहरूबाट अब सुधारको आशा नरहेको बताए ।

उनका अनुसार, “कांग्रेस, एमाले र माओवादी सच्चिने सम्भावना छैन । ती पार्टीहरू टाउकैसम्म कुहिएका छन् । त्यसैले त्यसको रुपान्तरणको कुनै सम्भावना म देख्दिनँ ।”

भट्टराईले ती पुराना पार्टीभित्रका दोस्रो, तेस्रो तहका र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न आह्वान गर्दै भने, “तपाईंहरूले विद्रोह गरेर वैकल्पिक शक्ति अभियानमा सामेल हुनुपर्छ । त्यसो हुन सक्यो भने तपाईंहरू चाहनुभएको शासकीय सुधार र परिवर्तन चाँडै सम्भव हुनेछ । निर्वाचन पनि तोकिएको समयमा नै हुनेछ ।”

अन्त्यमा, उनले वैकल्पिक युवा शक्तिलाई आफूले समर्थन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे । “वैकल्पिक नयाँ शक्ति, उदाउँदै गरेका युवा नेताहरूको गठबन्धनमा, र पुराना पार्टीबाट विद्रोह गरेर आउने युवाहरूलाई म साथ र सहयोग दिन तयार छु,” उनले भने ।

पार्टीको अध्यक्ष पदबाट अलग भए पनि आफू राजनीतिबाट अलग नभएको उनले स्पष्ट पारे ।