काठमाडौँ ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले एमाले आगामी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।

“जनताले दिएको म्याण्डेट अनुसार तोकिएको समयमा निर्वाचन गरिनुपर्छ,” बास्कोटाले भने, “हामी चुनावको सामना गर्न तयार छौं । खरानीको टीका लगाएर नयाँ इतिहास रच्न तम्तयार भएर बसेका छौं ।”

उनले एमालेलाई तीन पुस्ताको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा चित्रण गरे । “पुराना पुस्ताको सम्मान गर्छौं, बीचको पुस्ताको नेतृत्व गर्न सक्छौं, र परिवर्तनको नयाँ पुस्तासँग हातेमालो गर्न पनि सक्षम छौं,” बास्कोटाले भने ।

कार्यक्रममा बोल्दै उनले एमाले फेरि परिवर्तनको झण्डा बोकेर अगाडि बढ्ने दाबी गरे । “जननेता मदन भण्डारीलाई सम्झँदै भन्न चाहन्छु केही नेताहरू आउने नआउने होला, त्यो फरक कुरा हो । तर, नेकपा एमाले अवश्य आउने छ परिवर्तन, न्याय र समृद्धिको झण्डा बोकेर आउनेछ । गुमेको आत्मविश्वासलाई पुनः सगरमाथाको चुचुरोसम्म पुर्‍याउने संकल्पसहित आउनेछ,” उनले प्रस्ट पारे ।

यस्तै, हालको जेनजी आन्दोलनको सन्दर्भमा उनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्यप्रति आपत्ति जनाउँदै भने, “भौतिक संरचनामा तोडफोड गर्नेहरूलाई क्षतिपूर्ति गराउने गरी अगाडि बढ्नुपर्छ ।”