बुटवल,२८ भदौ ।
जेनजी पुस्ताका युवामाथि भएको गोलीकाण्डका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहर गर्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ ।

पूर्वप्रतिनिधिसभा सदस्य तथा कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ । सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरैजना घाइते भएको उल्लेख छ ।

मृतकमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमार्फत ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे निष्पक्ष छानबिन गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण प्रतिवेदन र घटनास्थल मुचुल्का समेत प्रमाणका रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।