बाणगंगा ।कपिलवस्तु जिल्लामा शान्ति–सुरक्षा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहानदेखि साँझसम्म निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङद्वारा जारी आदेशअनुसार आज शुक्रबार बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने भएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ क) बमोजिम जारी आदेशमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न रोक लगाइएको उल्लेख छ।

जिल्ला प्रशासनले जारी आदेशको अवज्ञा गर्ने वा पालना गराउन अवरोध गर्ने व्यक्तिमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रशासनले हालै जिल्लामा विभिन्न कारणले उत्पन्न हुनसक्ने प्रतिकूल अवस्थाले शान्ति–सुरक्षा प्रभावित हुनसक्ने भएकाले नागरिकलाई सचेत रहन समेत अनुरोध गरेको छ।