काठमाडौं, २६ भदौ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका र हालै रिहा भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्किन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन स्रोतका अनुसार, रायमाझीले टेलिफोनमार्फत सम्पर्क गरी आफू कुनै पनि कारागारमा पुनः जान तयार रहेको जानकारी दिएका हुन् । उनी स्वयं फर्कन इच्छुक भए पनि हालका लागि नआउनु भनिएको प्रशासनले जनाएको छ ।

“ठीक छ, हाम्रो सम्पर्कमै रहनुहोस् । परिस्थिति अनुकूल भएपछि खबर गर्छौं,” प्रशासन स्रोतले भन्यो ।

रायमाझी यसअघि सुन्धारा स्थित केन्द्रीय कारागारमा रहेका थिए । उक्त कारागारमा झण्डै ३८०० कैदीबन्दी थिए, जसमा करिब ३३०० जना फरार भएका छन् । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ समेत फरार भएकाहरूमा परेका छन् ।

फरार भएका केही कैदीहरू अहिले सम्म कारागार फर्किसकेका छन् भने केही फर्किने प्रक्रियामा रहेका छन् । भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन इच्छुक रहेको सन्देश प्रशासनलाई पठाएका छन् ।

यसैबीच, नख्खु कारागारबाट निस्केका कैदीहरूले मंगलबार राति करिब १० बजेतिर सुन्धारा कारागारमा तोडफोड गरेको सुरक्षा स्रोतले जनाएको छ । सो घटनापछि त्यहाँ खटिएको नेपाल प्रहरी सुरक्षाका लागि भागेर सैनिक मुख्यालय पुगेको थियो ।

घटनापछि नेपाली सेना मात्र कारागार पुगेको थियो । तर, त्यसबेलासम्म करिब ३३०० कैदीबन्दी फरार भइसकेका थिए ।