बुटवल, रुपन्देही ।

जेनजी आन्दोलनका कारण उत्पन्न सम्भावित अशान्तिलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा आज (शुक्रबार) दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनले जारी गरेको सूचनामा कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, सभा, जुलुस, प्रदर्शन वा अन्य भीडभाड गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कर्फ्यु आदेश तत्काल लागू हुने र उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

सीडीओ पाण्डेले स्थानिय शान्ति सुरक्षा र सार्वजनिक हितका लागि यस्तो कदम चाल्नुपरेको स्पष्ट गरेका छन् । हालको असहज अवस्था, आन्दोलन र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखी यो निर्णय गरिएको जनाइएको छ ।

प्रशासनले नागरिकहरूलाई तोकिएको समयमा घरभित्रै रहन र प्रशासनको आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।