कपिलवस्तु, १९ भदौ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम शारु मगर र प्रदेश सभा सदस्य विष्णु पन्थी नेतृत्वको टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीले हालै सम्पन्न गरेको चीन भ्रमणमा स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन क्षेत्रमा लगानीका नयाँ अवसरहरूको अन्वेषण गरेको छ। चिनियाँ उद्यमीहरूले नेपालमा यी क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

भ्रमणको क्रममा, सांसद पन्थीले चीनमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, कोडिङ, ड्रोन लगायतका प्राविधिक विकास र अनुसन्धान प्रक्रियाको अध्ययन गरेका छन् । उनले यसबारे जानकारी दिंदै भने, “यी प्रविधिहरूको प्रयोगले नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन सक्ने ठूलो सम्भावना छ ।”

स्वास्थ्य मन्त्री मगरले एआई प्रणालीको प्रयोगबारे आफ्ना अनुभवहरू साझा गर्दै भने, “चिनियाँ प्रविधिमा जिब्रो, आँखा र अनुहारको विश्लेषण गरी केही सेकेन्डमै स्वास्थ्य प्रतिवेदन दिने क्षमता थियो । यसले तत्काल मूल्याङ्कनमा मद्दत पुर्याउने भए पनि जटिल रोगको उपचारमा भने मानव चिकित्सकको भूमिका अपरिहार्य छ ।”

प्रदेश सभा सदस्य पन्थीले ग्वान्जाओमा गरेको अध्ययनबाट नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा चिनियाँ प्रविधिको प्रयोगले ठूलो लाभ लिन सकिने सम्भावना औंल्याएका छन् । उनले भने, “हाम्रा स्कूल र अस्पतालहरूमा एआई प्रणाली र प्राविधिक उपकरणहरूको प्रयोगले गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन सक्छ ।” भ्रमणका क्रममा साउथ चाइना एडभान्स मेटेरियल्स पार्क र सेडिसाइनको मुख्यालयको अवलोकन पनि गरिएको थियो ।

ग्वान्जाओबाट २८० किलोमिटर उत्तरपूर्वमा निर्माणाधीन बहुउद्देश्यीय थिमपार्कको अवलोकन गर्दा टोलीले चिनियाँ सेनाका अवकाशप्राप्त एक उद्यमीसँग भेटघाट गरेको थियो। उक्त उद्यमीले नेपालमा पनि यस्तै थिमपार्क निर्माण गर्न इच्छुक रहेको बताए। यस परियोजनाले नेपालमा पर्यटन, शिक्षा र प्रविधि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न सक्ने सम्भावना छ।

भ्रमणको क्रममा टोलीले चीनको समृद्ध चिया संस्कृतिको अनुभव पनि लिएको छ । चिया संस्कृतिको विकास र प्रविधिक संरचनाले ग्वान्जाओको सांस्कृतिक र औद्योगिक पहिचानलाई जीवन्त बनाएको पन्थीकी सदस्य अनुपमा पन्थीले बताइन ।