काठमाडौं, भदौ १९
नेकपा एमालेले आगामी शुक्रबारदेखि हुने दोस्रो विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

महाधिवेशनमा कुल २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित सम्पन्न हुने महाधिवेशनमा विभिन्न नेताहरूले महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, वर्तमानका प्रमुख चुनौतीहरू र पार्टीको कार्यदिशा समेटिनेछ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोख्रेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने छन् । यी प्रतिवेदनहरूमा समूहगत छलफल पनि हुनेछ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार, पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा नेपालको विकास, समाजवादको आधार निर्माण र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई अघि बढाउने मार्गचित्र प्रस्तुत गरिनेछ । यसका साथै, प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजवादको विशेषता र स्थायीत्वका विषयमा प्रस्ताव गरिनेछ ।