काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले अब आमाबाट पनि नागरिकता प्राप्त गर्न सकिने प्रावधान राखेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकसँग सम्बन्धित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले अब आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरिएको बताए ।

गृहमन्त्री लेखकले भने, “हामीले ऐतिहासिक प्रस्थान गरेका छौँ । अब आमाबाट पनि वंश कायम हुनेछ। आमाकै नागरिकताका आधारमा सन्तानलाई नागरिकता दिइने कुरा विधेयकमा सुनिश्चित गरिएको छ ।

बाबुको पहिचान नभएको अवस्थामा, आमाकै नामबाट नागरिकता दिन सकिने प्रावधान विधेयकको मुख्य आधार हो ।”

विधेयकमा १६ वर्ष उमेर नपुगेका नाबालकलाई यदि बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक भएमा, वैदेशिक यात्रामा सहजीकरणका लागि नाबालक परिचयपत्र प्रदान गर्न सकिने व्यवस्था पनि राखिएको छ ।

गृहमन्त्री लेखकले थपे, “संविधानको भावनाअनुसार कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन । साथै, नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाकै नामबाट नागरिकता प्राप्त गर्ने प्रावधान संविधानको पूर्ण कार्यान्वयन हुनेछ ।”

उनले वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन रहिरहँदा, अब अङ्गीकृत नागरिकता प्राप्त गर्ने अवसर पाउने कुरा उल्लेख गरे ।