कपिलवस्तु । नेपाल विद्यार्थी संघले आगामी २०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्व कपिलवस्तुका सक्रिय विद्यार्थी नेता तिलकराम पाण्डे (टिआर ) लाई जिम्मेवारी प्रदान गरेको छ।

संघको केन्द्रीय कार्य समिति, काठमाडौंबाट जारी पत्र मार्फत पाण्डेलाई उपनिर्वाचन सम्बन्धी विद्यार्थी संघको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको हो। यस समितिको काम निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउने, संगठनात्मक समन्वय गर्ने र परिणाममुखी पहल गरि अघि बढाउने रहनेछ।

यसअघि विद्यार्थी हितका सवालमा उल्लेखनीय भूमिका निर्वाह गरेका पाण्डेले ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानमार्फत रुपन्देहीका क्याम्पसहरूमा विद्यार्थीसँग गरिएको अवैध असुली रोक्न नेतृत्व गरेका थिए। उक्त अभियानकै परिणामस्वरूप ७१ लाख रुपैयाँ फिर्ता गराउन सफल भएका थिए।

विद्यार्थी राजनीति र संगठनमा लामो समय देखि सक्रिय पाण्डे जिम्मेवार र अनुशासित कार्यकर्ता मानिन्छन्। उनले विद्यार्थी आन्दोलन देखि शैक्षिक सुधार, युवाको अधिकार र सामाजिक उत्तरदायित्व सम्मका विषयमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।

संघले उनीमाथि देखाएको विश्वासलाई युवाहरूले सकारात्मक रूपमा लिएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले “टिआर पाण्डेको नेतृत्वले रुपन्देही उपनिर्वाचनमा संगठनात्मक भूमिका प्रभावकारी र परिणाममुखी बन्ने विश्वास लिएको” बताए।

जिम्मेवारी पाएका पाण्डेले आफूलाई दिएको विश्वासलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिवद्धता जनाउँदै भने, “विद्यार्थीको आवाजलाई सशक्त बनाउन, लोकतान्त्रिक मूल्यमा युवा एकताबद्ध गर्न र उपनिर्वाचनमा संघको योगदानलाई परिणाममुखी बनाउने बताए ।”