कपिलवस्तु । नेपाली कांग्रेससँग लामो समयदेखि संलग्न रहँदै आएका विशाल अधिकारीले पार्टी परित्याग गरेका छन्। फेसबुकमार्फत उनले आजदेखि साधारण सदस्यको रूपमा समेत पार्टीमा नरहने घोषणा गरेका हुन्।

अधिकारीले लेखेका छन् :
“राजनीतिक र व्यक्तिगत जीवनमा आज म जहाँ छु, त्यसमा नेपाली कांग्रेस पार्टीको योगदान गहिरो छ। मेरो जीवनयात्रामा मैले पाएको धेरै ज्ञान र अनुभवमा कांग्रेसकै छाप रहेको छ। बी.पी. कोईराला र गिरिजाप्रसाद कोईरालाको विचार, दर्शन र लोकतन्त्रप्रतिको आस्था मेरो लागि सदैव प्रेरणास्रोत बनेको छ। तर समयसँगै परिस्थिति र आवश्यकता दुवै बदलिएका छन्। आजको अवस्थामा नेपाली कांग्रेस मेरो लागि उपयुक्त छैन, र म पनि नेपाली कांग्रेसका लागि उपयुक्त छैन भन्ने निष्कर्षमा पुगेको छु।”

उनले थप लेखेका छन् :
“यो निर्णय सजिलो छैन, तर यो मेरो मनको आवाज हो। आफ्ना विचारलाई जीवनमा उतार्ने, समाजमा कार्यान्वयन गर्ने, र व्यक्तिगत जिम्मेवारी पूरा गर्ने संकल्पका साथ अघि बढ्नेछु। म सबैका लागि खुला छु… तर म एक्लो छु! र यही एक्लोपनमै नयाँ बाटो खोज्नेछु।”