बाणगंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु क्षेत्र नं. १ प्रदेशसभा (ख) अन्तर्गत शुद्धोधन गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विजय कुमार पाण्डेको अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचित पदाधिकारीमा उपाध्यक्षमा कलावति चाई, सचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा बहुरन पाण्डेसहित १७ सदस्यीय समिति चयन गरिएको अधिवेशन सञ्चालक तथा जिल्ला प्रवक्ता भुमिराज गिरिले जानकारी दिनुभयो ।

सोही अधिवेशनको अवसरमा एमाले र जसपाका ५३ जना नेता–कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमध्ये एमालेका इनल यादव, वासुदेव यादव र जसपाका सुनिल प्रजापति लगायत रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राप्रपा केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीले पार्टीमा नयाँ उत्साह देखिएको उल्लेख गर्दै भन्नुभयो, “राप्रपा मुलुकको स्वतन्त्रता, राष्ट्रियता र हिन्दू–राज्य स्थापनाका पक्षमा दृढ रहँदै आएको छ । शुद्धोधनमा देखिएको एकता र उत्साहले अबको यात्रामा हाम्रो संगठन अझ सबल र सक्षम बन्छ भन्ने विश्वास लिएको छु ।”

उक्त अधिवेशनमा विशिष्ट अतिथि केन्द्रीय सदस्य प्रमोद मिश्र, लुम्बिनी प्रदेश कोषाध्यक्ष श्रीकृष्ण पौडेल, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, प्रदेश सदस्य कनिज फातिमा रङ्गरेज, जिल्ला उपाध्यक्ष इदृश मोहम्मद मुसलमान, क्षेत्र नं. १ (ख) अध्यक्ष डिल्लीराम शर्मा लगायतको सहभागिता रहेको थियो ।

निर्वाचित कार्यसमिति र नयाँ प्रवेश गर्ने नेताहरूलाई अतिथिहरूले टीका लगाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।