बाणगंगा । १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने भएको छ । कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त महोत्सव हुन लागेको बाणगंगा वेल्फेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

बाणगंगा वेल्फेयर सोसाइटीको मुख्य आयोजना र कपिलवस्तु उद्योग वाणिज्य संघको सहकार्यमा हुने यस महोत्सव वि.स. २०६६ सालदेखि नियमित रूपमा हुँदै आएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत २०६८ सालदेखि दुवै संस्थाले आलोपालोको सहकार्यमा महोत्सव आयोजना गर्दै आएका छन् ।

वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले १५औं महोत्सवको मञ्चबाट नै यस वर्षको मिति घोषणा गरिएको स्मरण गराउँदै महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको बताएका छन् ।

उनले हाल अन्य संस्थाले मिति जुधाएर ‘प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी’को तयारी गरिरहेको बताउँदै यस कदमले संस्थागत द्वन्द सिर्जना र भ्रम फैलाउने सम्भावना रहेको बताए । अध्यक्ष खाँणले आम नागरिक, उद्योगी, व्यवसायी तथा सम्बन्धित निकायलाई भ्रममा नपरी महोत्सवको सफलताका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएको अध्यक्ष खाँणले बताए ।
उनका अनुसार यस वर्षको महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनीसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शन, व्यापार मेला र मनोरञ्जनात्मक गतिविधिहरू रहनेछन् ।

अध्यक्ष खाँणले महोत्सवलाई कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थभन्दा बाहिर राखी, सबै पक्षको एकता र सहकार्यमा सम्पन्न गरिने बताएका छन् । उनले महोत्सवलाई भव्य, सफल र राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत उल्लेख गरे ।