बिराटनगर । सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार, गाउँपालिकाको वडा नम्बर ३, फुलचौकीमा यो दुर्घटना भएको हो। विपरीत दिशाबाट आइरहेको मे १ ख १७९९ नम्बरको ‘मातृभाग्य रेखा’ बसलाई ओभरटेक गर्ने क्रममा प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर भ्यान ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान भने खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतक र घाइते हुनेमा अधिकांश विङ्गरका यात्रु रहेका छन्।

गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको गाउँपालिकाकै ग्लोबल कार्डियो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।