बाणगंगा । ओएसिस क्लब बोडगाउँको आयोजनामा भइरहेको कपिलवस्तु ओएसिस क्रिकेट कप २०८२ अन्तिम चरणमा प्रवेश गरिसकेको छ। साउन १६ गते शुक्रवारबाट सुरु भएको यो प्रतियोगिताको फाइनल खेल तथा समापन कार्यक्रम भोलि शुक्रबार हुने तय भए पनि मौसम प्रतिकूल भएपछि आइतबार (साउन २७ गते) हुने भएको हो।

आयोजक क्लबका अनुसार फाइनल खेल बाणगंगा नगरपालिका–०८, बोडगाउँस्थित मायादेवी रंगशालामा हुनेछ। आइतबार बिहान हुने सेमिफाइनल खेलमा आयोजक ओएसिस क्लब बोडगाउँ प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल विजेता टोलीले सोही दिन फाइनलमा प्रवेश गरिसकेको बाणगंगा वडा नं. ११ सँग उपाधिका लागि भिड्नेछ।

शानदार पुरस्कारसहितको यो रोमाञ्चक क्रिकेट प्रतियोगिता बाणगंगा नगरपालिकाभित्रका युवा खेलाडीहरूबीच सञ्चालन भइरहेको छ। विजेता टोलीलाई नगद रु. ११,१११ र उपविजेता टोलीलाई रु. ६,६६६ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगितामा केवल बाणगंगा नगरपालिकाभित्रका खेलाडीहरूले आफ्नै वडाका टिममार्फत सहभागिता जनाएका छन्। मिश्रित वडाका टिम स्वीकृत गरिएको छैन। क्लब अध्यक्ष महेन्द्र पाण्डेले बाणगंगा क्षेत्रका सम्पूर्ण खेलप्रेमी, युवाहरू, सहयोगी संस्था तथा शुभेच्छुहरूलाई आइतबार हुने फाइनल दिन उपस्थिति भई खेलको शोभा बढाउन आग्रह गर्नुभएको छ।