कपिलवस्तु । सामाजिक सुरक्षाभत्ता नविकरणका क्रममा वृद्धवृद्धाहरूले विभिन्न समस्याहरू भोगिरहेका बेला शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटाले घर–घरमै पुगेर नविकरण गराइदिने कार्य सुरु गर्नुभएको छ।
नविकरण प्रक्रियामा आवश्यक कागजात संकलनदेखि फारम भराइसम्मको प्रक्रिया जटिल हुने भएकाले धेरैजसो वृद्धवृद्धाहरूलाई समस्या भइरहेको थियो। यो समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा घरमै पुगेर नविकरण गराउने व्यवस्था मिलाउनु भएको हो।


“वृद्धवृद्धा हाम्रा अभिभावक हुन्, उनीहरूलाई स-साना कामका लागि पनि कार्यालय धाउनुपर्ने अवस्था हुनु दुःखद हो,” वडाध्यक्ष सापकोटाले भन्नुभयो, “हामीले सेवा घरमै पुर्‍याउने अभ्यास सुरु गरेका छौं।”
उहाँको यस कदमबाट वडा नं. ३ का धेरैजसो लाभग्राहीहरूले सहज रूपमा नविकरण सेवा पाएका छन्। स्थानीय बासिन्दाहरूले वडाध्यक्षको यो मानवीय प्रयासको खुलेर प्रशंसा गरेका छन्।