कपिलवस्तु । नेपाल–भारत सिमा क्षेत्र केवल भौगोलिक सीमाको परिभाषा मात्र होइन, हजारौं चेलीहरूको जीवन, सुरक्षा र भविष्यसँग गाँसिएको संवेदनशील स्थल हो। यस्तै संवेदनशील स्थानमा विगत २ दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको अभियानमा समर्पित रहँदै आएको कृयाशिल संस्था ‘आफन्त नेपाल’ सयौं चेलीको आशाको दीप बनेको छ।

स्थापना कालदेखि नै संस्था सशक्त, संवेदनशील र दूरदर्शी दृष्टिकोणले अगाडि बढ्दै आएको छ। सन् २०६४ सालदेखि सक्रिय रहँदै आएको आफन्त नेपालले यसबीचमा सयौं जोखिममा परेका महिला तथा बालिकाको उद्धार, संरक्षण, पुनर्मिलन र पुनर्स्थापना सफलतापूर्वक गर्दै आएको छ।

सीमामा गम्भीर निगरानी र सूचनाको सञ्जाल

संस्थाले सीमावर्ती क्षेत्रहरूमा सोधपुछ कक्षा स्थापना गरी महिला तथा बालिकाको अवैध ओसारपसार रोक्न निरन्तर काम गर्दै आएको छ। सीमा क्षेत्रमा तैनाथ सम्बद्ध स्वयंसेवक, सुरक्षाकर्मी र सरोकारवाला निकायहरूसँग हातेमालो गर्दै सम्भावित बेचबिखनको घटना रोक्न पश्चिम् महेन्द्रनगर देखि पुर्ब झापा सम्म सतर्कता बढाउदै आएको छ।

सूचना सम्प्रेषण प्रणालीको सुदृढीकरण संस्थाको अर्को महत्वपूर्ण विशेषता हो। सीमाबाटै सही समयमै सूचना संकलन तथा सम्प्रेषण मार्फत कैयौं चेलीहरूको जीवन र अस्मिता जोगाउन संस्था सफल भएको छ।

संरक्षण मात्र होइन, सशक्त पुनर्स्थापनामा जोड

आफन्त नेपालको सबैभन्दा प्रेरणादायी पक्ष भनेको उद्धारपश्चात् चेलीहरूलाई केवल ‘सुरक्षित घर’ मा राख्ने हैन, उनीहरूलाई दीर्घकालीन आत्मनिर्भरता दिलाउने योजना अनुसार अगाडि बढाउनु हो।

संस्थामा आश्रय लिएका चेलीहरूलाई विभिन्न आयमूलक सीपहरू जस्तै सिलाइ–कटाइ,बार्बर, शैलुन, इलेक्ट्रोनिक तालिम, बेकरी सम्बन्धी तालिम लगायतका सीपहरूमा प्रशिक्षित गराउने प्रक्रियामा जोड दिदै आएको छ र उनीहरूलाई व्यवसाय थाल्न आवश्यक सामग्री सहयोगका लागि समेत सहजीकरण गर्दै आएको छ । जसले गर्दा

धेरै चेलीहरूलाई आत्मनिर्भर, आत्मसम्मानी र आत्मविश्वासी जीवनमा पुनः फर्किन सक्ने बनाएको छ।

समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम

आफन्त नेपाल केवल जोखिमामा परेका महिला तथा किशोरीहरुको संरक्षणमा मात्र सीमित छैन। संस्थाले समुदायस्तरमै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै मानव बेचबिखनको जोखिम न्यूनीकरणमा समुदायकै संलग्नता सुनिश्चित गर्ने अभियान पनि संचालन गर्दै आएको छ।

‘जोखिममा परेका चेलीहरूलाई बचाउनु मात्र पर्याप्त होइन, समाज नै सुरक्षित र सचेत बनाउनु आवश्यक छ’ भन्ने मूल सोचका साथ, संस्थाले विद्यालय, समुदाय, युवा समूह र महिला समुहमार्फत नियमित जनचेतना, संवाद कार्यक्रम, र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।

साथै, समुदायकै आर्थिक सशक्तिकरणलाई मध्यनजर राख्दै आयआर्जनका कार्यक्रमहरू (micro-enterprise support, vocational training, महिला समूह सशक्तीकरण) सञ्चालन गरिएको छ, जसले सामाजिक–आर्थिक आत्मनिर्भरता ल्याउन मद्दत पुर्‍याइरहेको छ।

सामाजिक उत्तरदायित्वको चम्किलो उदाहरण

आफन्त नेपालको अभियानले सामाजिक उत्तरदायित्व, मानवअधिकार र न्यायको आवाजलाई सशक्त बनाउँदै आएको छ। स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सञ्चारमाध्यमहरूसँगको समन्वयले अझ प्रभावकारी परिणाम दिन सफल भएको छ।

आफन्त नेपालको यात्रा एक यस्तो प्रेरणादायी प्रयास हो जसले समाजका हजारौं पीडितहरूको जीवनमा नयाँ आशाको किरण फैलाएको छ।

अन्तमा…

आज जब हामी मानव बेचबिखन र लैङ्गिक हिंसाको शून्य सहनशीलताको कुरा गर्छौं, त्यस्तो वातावरण सिर्जना गर्न आफन्त नेपाल जस्ता संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण र अमूल्य छ।