काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने जानकारी गराए ।
यसअघि ४७ औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन नसकेको उनको भनाइ थियो ।

मन्त्री पाण्डले तिलौराकोट लगाएत प्रस्तावित स्थलका सम्बन्धमा भारतले असहमति राखेका कारण प्रक्रिया जटिल भएको उल्लेख बताए ।कपिलवस्तुलाई हटाएर तिलौराकोटलाई विश्व सम्पदा सूचीको रूपमा स्वीकार गर्न भारतले प्रस्ताव गरेको तर नेपालले अस्वीकार गरेको पाण्डेले सुनाए ।

अहिले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पाण्डेले केही सुधारात्मक काम अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बारेमा सरकारको नीति नहुँदा समस्या देखिएको बताए । सरकारले नीति बनाए कोषलाई सरकारको पैसा आवश्यक नपर्ने उनको भनाइ थियो । पछिल्लो समय सरकारले कोषको बजेट कटौती गर्दै लगेको गुनासो गर्दै उनले आफू कोषमा गएपछि तलब भत्ता नलिएर नै धेरै काम गरेको बताए ।आफू लुम्बिनी क्षेत्रको विकासमा निरन्तर खटिरहेको उनको भनाइ थियो ।