अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेल नियन्त्रण गर्न नाङ्गो तारमार्फत विद्युतीय करेन्ट नलगाउँन आग्रह गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगत केही समयदेखी किसानले आफू खुसी विद्युतको नाङ्गो तार मार्फत विद्युतीय करेन्ट प्रवाह गर्ने अभ्यास गर्ने गरेको, यस्तो विद्युत प्रवाहबाट करेन्ट लागी जनधनको क्षति भई प्रहरीबाट अनुसन्धान गरी कसुर गर्नेलाई कानून वमोजिम मुद्दा चलाइएको र हाल पनि कतिपय स्थानमा उक्त जोखिमयुक्त अभ्यास प्रयोगमा रहेको भन्ने सूचना तथा गुनासोहरु यस कार्यालयमा प्राप्त भइरहेको छ।”

नाङ्गो तारमा करेन्ट लगाउँदा साधारण नागरिकको समेत ज्यान जाने हुदाँ यस्तो कार्य गैरकानुनी मात्र नभई गम्भीर सजायको भागिदार बन्ने खालको अपराध रहेको स्पष्ट पारेको छ । त्यसैले प्रशासनले सबै नागरिकलाई सचेत रहन र यस प्रकारका कार्य नगर्न तथा अरूलाई पनि रोक्न अनुरोध गरेको छ।


यदि कतै यस्तो कार्य भइरहेको थाहा भएमा नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, गाउँ वा नगरपालिकाको कार्यालय, वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त जानकारी गराउन पनि अपिल गरिएको छ।