काठमाडौं । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र न ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन आयोगले सांसद दीपक बोहराको निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएको छन्।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डाभीष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।