गुल्मी । सोमबार रातिदेखि परेको अविरल वर्षा खोलामा पानीको सतह बढेपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध भएको छ ।

रिडी-वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक सञ्चालन गर्न अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी सारुले बताए ।

त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ ।जिल्ला प्रशासन कार्यालयले वर्षातको समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।

प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

त्यसैगरी, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।