कपिलवस्तु । कपिलवस्तुका २ भन्सारबाट एक वर्षमा सवा ६ अर्ब बढी राजस्व संकलन भएका छन् ।गत आर्थिक बर्ष २०८१/०८२ मा कृष्णनगर र सुठौली भन्सारमा गरी ६ अर्ब २६ करोड ८५ लाख ८३ हजार राजस्व संकलन भएको हो ।

कृष्णनगर देशकै प्रमुख १०भन्सार मध्ये एक हो भने सुैठौली ७ बर्ष अघि ठुलो भन्सार कार्यालयका रुपमा स्थापना गरिएको थियो । गत आर्थिक वर्ष दुबै भन्सारमा गरी ६ अर्ब १३ करोड ३४ लाखको लक्ष्य दिइएको थियो । गत आर्थिक वर्ष कृष्णनगर भन्सारमा ५ अर्ब २३ करोड २० लाख २५ हजार राजस्व संकलन भएको कृष्णननगर भन्सारका सूचना अधिकृत लेखनाथ भट्टराईले बताए ।

गत आर्थिक वर्ष कृष्णनगर भन्सारलाई ५ अर्ब ३२ करोड ५६ लाख ९० हजारको लक्ष्य दिइएको थियो । जुन वार्षिक लक्ष्यको ९८ दशमलव २५ प्रतिशत हो । आर्थिक बर्ष २०८०/८१ मा असुल गरिएको भन्सार भन्दा १३ दशमलव ५ प्रतिशतले बढी रहेको भट्टराईले बताए । यस्तै गत आर्थिक बर्ष सुठौली भन्सारमा १ अर्ब ३ करोड ६५ लाख ५८ हजार राजस्व संकलन भएको भन्सार प्रमुख नारायण गैरले बताए । गत बर्ष भन्सार भन्सारलाई ८० करोड ७ लाख ७१ हजार लक्ष्य दिइएको थियो ।

सुठौली भन्सारमा लक्ष्यमा भन्दा १ सय २९ दशमलव ४५ प्रतिशत राजस्व संकलन भएको प्रमुख गैरले बताए । आर्थिक वर्ष २०८०/८१ मा भन्सारले तोकिएको भन्सार राजश्व लक्ष्यको ३२ प्रतिशत राजश्व मात्रै असुली गर्न सकेको थियो । गत आर्थिक बर्ष कृष्णगनर भन्सारले राजस्व संकलनमा लक्ष्य कै हाराहारीमा राजस्व संकलन गर्न सफल भएको गैरले बताए । कृष्णनगर नाकाबाट मुख्यरुपमा सिमेन्ट उद्योगका लागि कोईला, खरानी, जिप्सन,लेटराईट आइरन ओर, वियर उद्योगलाई आवश्यक पर्ने माल्ट बोतल तथा क्यानहरू स्टिल उद्योगको कच्चा पदार्थ स्पन्ज आइरन, पिग आइरन चामल फलफूल तथा तरकारी लगायत बस्तुहरू आयत हुने गर्छन् ।

यस्तै सिमेन्ट, प्लाईवुड, क्लिङकर, जडीबुटी तथा हस्तकला सामाग्रीहरू भारत निर्यात हुने गर्छन् । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैधरुपम भित्राइएका मालबस्तु पक्राउ गरी भन्सारमा बुझाइएका बस्तुहरूको लिलाम गरी १ करोड १२ लाख राजस्व समेत संकलन गरिएको भट्टराईले बताए । सुठौली भन्सार प्रमुख नारायण प्रसाद गैरले क्वारेन्टाईनको स्थापना, फलफूल तरकारी सहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको सामाग्री आयातले राजश्व असुलीको लक्ष्य पार भएको बताए । चालु आर्थिक बर्ष देखि धर्मकाटा सञ्चालन गरिएको गैरले बताए । अन्तराष्ट्रियस्तरमा लोकेट गर्ने युएनएलओ कोड नभएकाले निर्यातजन्यवस्तु निर्यातमा समस्या भएको उनले बताए ।

सुठौली भन्सार सिमेन्टमा प्रयोग हुने खरानी, जिप्सम, कोईला, बिटमिन (अलकत्रा), धान तथा चामल, फलफूल र तरकारी सहितका खाद्यान्न र उपभोग्यवस्तुको आयात हुने गरेको सुठौली भन्सारका सूचना अधिकारी नायब सुब्बा भिम बहादुर लामाले बताए । भन्सारमा लक्ष्य भन्दा बढी राजस्व संकलन हुनुमा सुरक्षाकर्मीको निग्रानी र कडाइले गर्दा पनि रहेको प्रजिअ दिल कुमार तामाङले बताए । उनले भन्सार राजस्व राम्रो उठ्नु पनि चोरी तस्करी नियन्त्रणमा कपिलवस्तुमा राम्रो प्रयास गरिएको भन्ने आफूलाई लागेको बताए ।