बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत रहेको मायादेवी साझेदारी बनमा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यले वृक्षारोपणको ठूलो अभियान सञ्चालन गरिएको छ ।करिब ५७ हेक्टर क्षेत्रफलमा १ लाख बिरुवा रोप्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ।

बन समितिका अनुसार, प्रारम्भिक चरणमा करिब ५७ हेक्टर क्षेत्रफलमा टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बबुल, अर्जुन, जामुन, बाँस, सिरिसलगायत बहुउपयोगी तथा वातावरणमैत्री बिरुवाहरू रोपिने छन्। हालसम्म १८ हजार बिरुवाहरू रोपि सकिएको छ भने साउन १५ गतेसम्म सम्पूर्ण वृक्षारोपण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। बिरुवाहरूको सुरक्षा सुनिश्चित गर्न तारबारको व्यवस्था समेत गरिएको छ।

मायादेवी साझेदारी बनले बाणगंगा नगरपालिकाका साथै शुद्धोधन र मायादेवी गाउँपालिकालाई कार्यक्षेत्र बनाई संरक्षण तथा सामाजिक विकासको क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आइरहेको छ।

साझेदारी बनका अध्यक्ष दिनेश जैशवालले भने, “हामी बन संरक्षणसँगै सामाजिक विकासमा पनि अग्रसर छौं। उपभोक्ताहरूलाई सहज रूपमा काठ तथा दाउरा उपलब्ध गराउँदै आएका छौं भने उपभोक्ताहरूको आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य लगायतका सामाजिक गतिविधिहरू पनि निरन्तर सञ्चालन गर्दै आएका छौं।”

पर्यावरणीय सन्तुलन, जैविक विविधताको प्रवद्र्धन र स्थानीय स्रोतको दीगो व्यवस्थापनमा मायादेवी साझेदारी बनको यो पहल उदाहरणीय मानिएको छ।साथै, बुटवल–नारायणखण्डको पश्चिम बुटवल–गोरुसिगे सडक योजनाको लगानीमा गरिएको वृक्षारोपण कार्यप्रति अध्यक्ष जैशवालले धन्यवाद व्यक्त गरेका छन्। योजनाले बन क्षेत्रको हरियाली विस्तार र वातावरणीय सुधारमा सहयोग पुर्‍याएको भन्दै उनले प्रशंसा समेत गरेका छन्।