बाणगंगा ।कपिलवस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला भईरहेको छ । गुरुपूर्णिमाको दिन यस मेला धामका अध्यक्ष रन बहादुर काउचा र बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चनाबाट सुरु भएको हो ।

धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिने यो मेला एक महिनासम्म चल्ने जनाईएको छ । यस अवधिमा हरेक हप्ताको प्रत्येक आइतबार साँझ ७ बजे विशेष सन्ध्याकालीन गंगाआरती समेत हुने छ । धाम व्यवस्थापन समितिका अनुसार अहिले मेला परिसरमा सुरक्षा, सरसफाई, तथा श्रद्धालुहरूको सुविधाका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने काम धमाधम भईरहेको छ ।

धार्मिक, ऐतिहासिक महत्व बोकेको यस बोलबम धामलाई पर्यटकीय स्थलको रूपमा विकास गरी अन्तरिक तथा बाह्य पर्यटकहरुको साँझा गन्तव्य बनाउन व्यवस्थापन समित लागिपरेको छ । सोही अनुरुप धामलाई थप व्यवस्थित बनाउन नविन अभ्यासहरु गरिदैं आएको छ ।

बोलबम मेलामा आउने भक्तजनलाई मध्येनजर गर्दै भक्तजनको आवातजावातलाई सहज बनाउन र भक्तजनको सुरक्षाका लागि आवश्यक कार्यको तयारी समेत भईरहेको वडाध्यक्ष करुण टण्डनले बताउनुभयो ।

बोलबम मेला अवधिर धाम परिसर भित्र जाँड रक्सी बेचविखन तथा सेवनमा रोक लगाएइएको छ । यदि कसैले उक्त कार्य गरे वा गराएमा आवश्यक कारवाही समेत गरिने वडाध्यक्ष टण्डनले चेतावनी दिनुभयो । साथै उहाँले बोलबम मेलालाई भव्य रुपमा सफल पार्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

रुपन्देहीको पर्रोहा परमेश्वर शिव ज्योर्तिलिंग बोलबम धामबाट आई लक्ष्मणघाट धाममा बासबस्ने र सबेरै जल लगि पर्रोहा बोलबम धाममा जलार्पण गरिने बताइएको छ । यसबिचमा रातभर जाग्राम बस्ने र विभिन्न धार्मिक भजनकृतन समेत हुने छ ।

पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित लक्ष्मणघाट बोलबम धाममा गुरुपुर्णिमा देखि ऋषितर्पणी जनैपुर्णिमा सम्म एक महिनाभर जलार्पण गर्ने गरिन्छ ।

पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने विश्वास छ ।