कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्ला कमिटीको २५ औं जिल्ला अधिवेशन शनिबार बाणगंगास्थित सिद्धार्थ क्याम्पसको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले पारस मरासिनीको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ।

नयाँ कार्यकमिटीमा उपाध्यक्षमा प्रकाश न्यौपाने, पशुपति गिरी र आश्विन के.सी. चयन भएका छन्। सचिवमा शेषकान्त मरासिनी, सह–सचिवमा सीता अधिकारी, शिवलाल ठाकुर र अभिशेक यादव चयन भएका छन्। कोषाध्यक्षमा मधुसुदन भुसाल चयन भएका छन्।

कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले युवा पुस्ताले संगठनसँगै राष्ट्र निर्माणको जिम्मेवारी पनि बोक्नुपर्ने बताए। उनले विद्यार्थी संगठनले समय सापेक्ष विषय उठान गर्दै शिक्षाको गुणस्तरमा समेत जोड दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि तथा अनेरास्ववियु लुम्बिनी प्रदेश संयोजक रमेश ढकालले अनेरास्ववियुले सदैव विद्यार्थीको हक अधिकारका लागि संघर्ष गर्दै आएको र आगामी दिनमा पनि जनताको पक्षमा सशक्त भूमिका खेल्ने बताए। उनले संगठन विस्तार र सुदृढीकरणमा नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अतिथि तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डेले अनेरास्ववियु देशकै अग्रणी विद्यार्थी संगठन भएको बताउँदै संगठनभित्र अनुशासन, निष्ठा र विचारधारात्मक स्पष्टता आवश्यक भएको धारणा राखे।

त्यसैगरी कार्यक्रमका अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु घिमिरे, लुम्बिनी प्रदेश सह–संयोजक अञ्जित खनाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम निवर्तमान अध्यक्ष निशान खड्काको अध्यक्षता, सचिव पारस मरासिनीको सञ्चालन तथा उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो।