बाणगंगा । बाणगंगा नगरपालिका–२, नन्दनगरमा अवस्थित बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले २०७४।०७५ सालदेखि निरन्तर अहिले हाल आर्थिक वर्ष २०८१/८२ सम्म मा शून्य बक्यौता कायम गर्दै ऐतिहासिक सफलता हात पारेको छ। सुदृढ व्यवस्थापन, पारदर्शी सेवा प्रवाह र उपभोक्तामैत्री प्रणालीमार्फत सेवा विस्तार गर्दै आएको संस्थाले उपभोक्ता क्षेत्रमा अनुकरणीय पहिचान बनाउँदै गएको छ।

संस्थाका अध्यक्ष विश्व कार्कीका अनुसार उपभोक्ताको समयमै महसुल भुक्तानी, कर्मचारीहरूको निष्ठापूर्वक सेवा र व्यवस्थापनको कुशलताका कारण संस्थाले बक्यौता शून्य बनाउने लक्ष्यमा उल्लेखनीय सफलता प्राप्त गर्न सकेको हो।

“हामी सबै उपभोक्ताको साथ, कर्मचारीहरूको निरन्तर समर्पण र संस्थागत पारदर्शिताको प्रतिफल हो यो उपलब्धि,” अध्यक्ष कार्कीले भन्नुभयो, “संस्थाको प्रगतिको मूल कारण नै उपभोक्तासँगको समन्वय र सशक्त कार्यदल हो।”

उल्लेखनीय पूर्वाधार र प्रविधिमैत्री सेवा
संस्थाले करिब १५ हजार घरधुरीलाई सेवा दिन सक्ने क्षमतायुक्त संरचना निर्माण गरेको छ। हाल करिब २,००० घरधुरीले सेवा लिइरहेको भए पनि भविष्यलाई लक्षित गर्दै सेवा विस्तारको पूर्वाधार तयार गरिएको छ।

संस्थाको मातहतमा अहिले ४,५०,००० लिटर (४५० घनमिटर) क्षमताका दुईवटा र १,००,००० लिटर (१०० घनमिटर) क्षमताको एक ओभरहेड ट्याङ्की निमार्ण भएको छ र पाइपलाइनको विस्तार काम पनि अन्तिम चरणमा रहेको छ । मोटर अन- अफ पूर्णतः अटोमेसन प्रविधिबाट नियन्त्रित छ, जसले प्रणालीलाई थप स्मार्ट र कुशल बनाएको छ।संस्थाको आफ्नै वेबसाइट, मोबाइल एप्स र दियालो टेक्नोलोजीको सफ्टवेयर प्रयोगमार्फत उपभोक्ताले सजिलै सेवा लिन सक्ने वातावरण बनेको छ।

सार्वजनिक सरसफाईमा व्यापक काम: स्मार्ट शौचालय निर्माण हुँदै
खानेपानी मात्र होइन, सार्वजनिक सरसफाई र स्वच्छतामा पनि संस्था अग्रपङ्क्तिमा देखिएको छ। संस्थाले निम्न स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गरिसकेको छ:

पिपरा कलौनी चोकमा १ पुरुष र १ महिला शौचालय
इलाका प्रहरी कार्यालय पिपरा परिसरमा १ पुरुष, १ महिला र १ अपांगमैत्री शौचालय
नन्दनगर गुरुकुल अगाडि १ पुरुष, १ महिला र १ अपांगमैत्री शौचालय
वडा नं.२ कार्यालय अगाडि करिब ६० लाख लागतको स्मार्ट शौचालय निर्माणाधीन
पिपरा अस्पतालमा तातो–चिसो पानीको सुविधासहितको शौचालय र आधुनिक ‘आरो प्लान्ट’ निर्माणको तयारी

विपन्न र अति विपन्नका लागि विशेष कार्यक्रम
संस्थाले ४३ विपन्न घरधुरीलाई पूर्णरूपमा निःशुल्क शौचालय निर्माण गरिदिएको छ। साथै, ३४ घरधुरीमा निःशुल्क धारा जडान गरी उनीहरूलाई खानेपानी वितरण गरिएको छ।

अति विपन्न, जसको मासिक आम्दानी शून्य छ वा अत्यन्त न्यून छ, त्यस्ता परिवारलाई नियमित रूपमा निःशुल्क पानी सेवा प्रदान गरिँदै आएको छ, र महसुलमा पूर्ण छुट दिइएको छ।

त्यस्तै, ८० वर्ष पूरा गरिसकेका जेष्ठ नागरिक, जसको नाममा लालपुर्जा छ वा वडा कार्यालयबाट बहाल कर तिरेको छ, उनीहरूलाई मासिक महसुलमा ५० प्रतिशत छुट दिइँदै आएको संस्थाले जनाएको छ।

सशक्त संस्थागत संरचना
संस्थामा १३ सदस्यीय सञ्चालक समिति, ५ सदस्यीय सल्लाहकार समिति, ९ सदस्यीय अनुगमन समिति, ९ सदस्यीय सरसफाई समिति र ७ सदस्यीय पानी सुरक्षा समिति गठन गरिएको छ। यसबाहेक कर्मचारी संरचना अन्तर्गत १ जना व्यवस्थापक, १ लेखापाल, १ अपरेटर, १ प्लम्बर, ३ जना चौकीदार र १ जना परिचारिका कार्यरत छन्।

विकास र पारदर्शिताको नमूना संस्था
अध्यक्ष कार्की हाल दोस्रो कार्यकालमा छन्। उनको नेतृत्वमा संस्थाले जिल्लामै सर्वाधिक बजेट भित्र्याउन सफल भएको छ र विभिन्न संरचनात्मक निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ। संस्थाको समर्पित प्रयास, पारदर्शिता र प्रगतिशील सोचका कारण बाणगंगा खानेपानी संस्था अहिले जिल्लाकै नमूना संस्थाका रूपमा स्थापित बन्दै गएको छ।

संस्थाले दीर्घकालीन दिगोपनालाई ध्यानमा राख्दै ३० वर्षे लक्ष्य कार्ययोजना पनि तयार गरेको छ, जसअनुसार खानेपानी सेवा क्षेत्रको दिगो विकास र गुणस्तरीय सेवा विस्तार गरिँदै जानेछ।

संस्थाको उत्कृष्ट कार्यप्रति सम्मानस्वरूप बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा संस्थालाई विशेष सम्मानसमेत प्रदान गरेको छ।

अध्यक्ष कार्की हाल खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको केन्द्रीय सदस्य हुनुका साथै लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। नेतृत्व, समर्पण र प्रगतिशील सोचका कारण उहाँ बाणगंगा मात्र नभई प्रदेशस्तरमै खानेपानी क्षेत्रका सक्रिय र प्रभावशाली अगुवाका रूपमा स्थापित हुँदै आएका छन्।