पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनालका अनुसार विकास निर्माणमा पारदर्शिता, गुणस्तर, र जनउत्तरदायी प्रणालीलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ।

पालिकाले पी.सी.सी. ढलानसहितका सडक निर्माण, सिंचाइ मर्मत–सम्भार, शैक्षिक भवन निर्माण, लगायतका भौतिक पूर्वाधारको विकासलाई तीव्रता दिएको छ। साथै, कृषि क्षेत्रको सशक्तिकरणका लागि धान र गहुँवाली कार्यक्रम, विद्युतीय मटर, पम्प पाइप, कीटनाशक औषधि र बीउ वितरण कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ, जसबाट कृषक र स्थानीय व्यवसायी लाभान्वित भएका छन्।युवालाई स्वरोजगारमा प्रेरित गर्न पालिकाले कपाल काट्ने तालिम, मोबाइल मर्मत तालिमलगायतका व्यावसायिक तालिमहरू समेत सञ्चालन गर्दै आएको छ। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको खनालले बताए।

प्रशासकीय अधिकृत खनालका अनुसार नागरिकबाट प्राप्त गुनासा र समस्या समाधानका लागि प्रत्येक वडासँग समन्वय गर्दै सेवा प्रवाहलाई सरल, छरितो र प्रभावकारी बनाइएको छ। उहाँले नागरिकसँग नियमित छलफल र सुनुवाइ कार्यक्रमको माध्यमबाट पालिकाको सेवा प्रणालीलाई जनमुखी बनाउन सक्रिय पहल भइरहेको उल्लेख गर्नुभयो।

जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वय र सहकार्यले पालिकालाई राम्रो सेवा दिने मोडलका रूपमा स्थापित गरिरहेको छ। सेवाग्राहीले पालिकाको कामप्रति विश्वास र सन्तुष्टि व्यक्त गर्दै सेवा प्रणाली सहज र जनमैत्री भएको प्रतिक्रिया दिएका छन्।प्रमुख प्रशासकीय अधिकृत खनालको नेतृत्वमा यशोधरा गाउँपालिका जनमुखी, छरितो र उत्तरदायी प्रशासनको उदाहरण बन्दै गएको छ।