कपिलवस्तु। कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाट औषधी हराएको छानबिन समितिले ठहर गरेको छ ।आव २०८०(८१ मा औषधीको स्टकमा कैफियत देखिएपछि समिति गठन गरी स्टक जाँच र छानबिन सुरु गरिएको थियो । अस्पताल व्यवस्थापन समितिको साउन २९ गते बैठक बसी व्यवस्थापक मेनका रानाको संयोजकत्वमा मौज्दात औषधी र सफ्टवेयरको तथ्याङ्क भिडाउन जिम्मा दिइएको थियो ।
आव २०७९(८० मा स्टक मिलान गराउँदा ४४ लाख रुपियाँभन्दा बढीको औषधी गायब गरिएको थियो । उक्त आवमा एक करोड ३७ लाख ५२ हजार ६९९ रुपियाँको औषधी स्टक देखिएको थियो तर आव २०८०र८१ मा ९५ लाख ९४ हजार ३९६ रुपियाँको औषधी सफ्टवेयरमा इन्ट्री गरिएको थियो । यसरी ४१ लाख ५८ हजार ३०३ रुपियाँको औषधीको हिसाब नै गायब गरिएको थियो ।यसै गरी आव २०८०(८१ को अन्त्यमा स्टक जाँच गर्दा सात लाख ५४ हजार रुपियाँभन्दा बढी औषधी हराएको भेटिएको छ । उक्त औषधीको बिक्री मूल्य ४६ लाख ३३ हजार ६३० रुपियाँ रहेको छ । अस्पताल प्रशासनले असोज २ गते पत्र काटेर ८७ लाख ९१ हजार ९६३ रुपियाँको हिसाब बुझाउन पूर्वफार्मेसी अधिकृत वीरेन्द्रप्रसाद गुप्तालाई पत्राचारसमेत गरिएको छ । समितिले एकाउन्टिङ सफ्टवेयर कम्पनी पूर्णिमा आइटीको सहयोग लिई गणना गरेको थियो ।
औषधी मेसुको क्लिनिकमा
पूर्वमेसु डा। विपिन जयसवाल र उहाँका भाइ डा। विकास जयसवालले सञ्चालन गरेको सञ्जीवनी क्लिनिकले अस्पतालबाट औषधी खरिद गरेको देखिएको छ । अस्पतालबाट उक्त क्लिनिकको नाममा १९ पटक औषधी बिक्री गरिएको थियो । त्यसरी बिक्री गर्दा प्रतिबन्धित औषधीसमेतको कारोबार भएको छ तर अस्पतालबाट क्लिनिकका नामका औषधी खरिद भएको डा। विकास जयसवालले दाबी गर्नुभयो । अस्पतालले टेन्डर गरी खरिद गरेको औषधी डिस्टिब्युटर्सभन्दा धेरै सस्तो पर्ने बताइएको छ । यसै गरी फार्मेसीबाट कपिलवस्तु अस्पतालका नाममा ४१ पटक औषधी बिक्री गरिएको छ । एक पटकमा एक लाख रुपियाँसम्म औषधीको बिल काटिएको छ । ती औषधी कहाँ बिक्री गरिएको थाहा नभएको फार्मेसीका कर्मचारीले बताएका छन् ।
छानबिन सुरु गर्ने मेसुको सरुवा
२०७१ सालबाट चिकित्सक रहेका डा। बन्जाडेले २०७६ सालमा मेसुको कार्यभार समाल्नुभएको थियो । उहाँको २०८० जेठमा सरुवा भएको थियो । सङ्घीय सरकार परिवर्तन भएसँगै २०८१ जेठ २९ गते डा। बन्जाडेको दोस्रो पटक कपिलवस्तु अस्पतालमा सरुवा भयो । बिचको एक वर्ष डा। विपिन जयसवाल निमित्त मेसु हुनुभएको थियो । दोस्रो पटक कार्यभार समालेको दुई महिनामा डा।बन्जाडेको कोशी अस्पतालमा सरुवा भएको थियो । औषधी हराएको विषयको छानबिनकै कारण उहाँको सरुवा भएको स्रोतको दाबी छ । –गोरखापत्रबाट