कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालीकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ। यसका लागि नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
बुद्धभूमि नगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेद्वारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो। जेठ ७ गते कार्यालय समय भित्र सूचना संगै रहेको लिङ्कमा गई फारम भर्नुपर्ने पालिकाले सूचनामा उल्लेख गरेको छ ।
नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायब सुब्बा स्तरको कक्षाका लागि प्लस टु पास गरेको अथवा लोकसेवा आयोगको फारम भरेको भए प्रवेश पत्र वा फारम भरेको प्रतिलिपि उल्लेख गर्नुपर्ने पालिकाले जनाएको छ ।
लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै नगरपालिकाले युवाका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गर्न गएको नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए ।
युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गर्न थालिएको नगरप्रमुख श्रेष्ठले बताए ।
