काठमाण्डौ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेको छ।

दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक गरेको हो। तर यो बैठक विवादमा परेको छ। कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएनन्। नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेविसंघले केन्द्रीय समिति बैठक बहिष्कार गरे।

उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए। जसअनुसार देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए। अध्यक्ष शेर्पाले अवैधानिक गतिविधि गरिरहेको आरोप संस्थापनइतर समूहका नेविसंघले लगाएका छन्।

सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरू गराएको हो। बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि बनेका थिए। उनले फरक विचार राख्नेहरूलाई पनि समेटेर महाधिवेशनका लागि अघि बढ्नुपर्ने बताए। ‘दुजाङजी विधिवत् ढंगले महाधिवेशन गराउन चाहनुहुन्छ,’ उनले भने, ‘असमझदारी मिलाएर सबै केन्द्रीय सदस्यलाई राखेर विधिवत महाधिवेशन गर्नुपर्छ।’

विगतमा नेविसंघमा महाधिवेशनका बेला पनि विवाद हुने गरेको भन्दै भट्टराईले यस्ता विवाद हल गरेर महाधिवेशनको बाटोमा जानुपर्ने बताए।महामन्त्री थापानिकट नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले आफूहरू केन्द्रीय समिति बैठकमा सहभागी नभएको बताए। सभापति शेरबहादुर देउवाले गत साउन २२ गते नेविसंघ तदर्थ समिति गठन गरेका थिए। तदर्थ समिति गठन भएको सात महिनासम्म एउटा पनि केन्द्रीय समिति बैठक बसेको थिएन।