कपिलवस्तु ।

कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रमेशचन्द्र भुसालले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । आफु स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट समेत पारेका छन् । उद्योगी व्यवसायीहरु प्लायन हुने स्थिति रोक्न र उनीहरुको हकहितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

‘व्यवसायीहरुको विस्थापनलाई रोक्न नसके देशको आर्थिक अवस्था भयावह हुन्छ । त्यसैले हरेक क्षेत्रमा पहरेदारी, खबरदारीका साथ समझदारीमा ल्याउन पर्छ भन्ने उद्देश्यका साथ अध्यक्ष पदको लागी उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।

उनले हरेक क्षेत्रमा राजनितिक भागवण्डा तथा राजनितिक लेपन लगाउने कोसिस हुने गरेको बताउँदै उक्त प्रवृतिको आफु विरुद्धमा रहेको समेत उद्घोष गरे । उनले आफ्नो उम्मेदवारी आम उद्योगी, व्यवसायीको उम्मेदवारी भएको बताए ।आफु करिब १५ बर्षदेखि उद्योग व्यापारको क्षेत्रमा तत्लीन रहेको बताउँदै उनले भने, ‘यही क्षेत्रका करिब एक सय जनालाई युवा युवतीलाई रोजगारी दिएको छु ।’