दिपिका सुनार बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १ चारनम्बरमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक केन्द्रीय साधारण सभा सम्पन्न भएको छ

साधारण सभा मंगलबार सहकारीको आफ्नै भवनमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई राष्ट्रिय स्तरको सहकारी गराउने उद्देश्य रहेको सुनाए । उनले हाल सहकारीमा १० हजार भन्दा बढि सेयर सदस्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वस्वास्थ्य मन्त्री लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले दियो बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रदेश सांसद पन्थीले सिनर्जी बहुउद्देश्यीय सहकारीलाई आगामी बर्षमा भिन्न योजनाका साथ अघि बढ्न आग्रह गरे । उनले बाणगगाका अधिकांश सहकारीहरु उत्कृष्ट रहेको बताउदै अब सहकारीलाई कृषि र उद्यमशिलतामा जोडन आग्रह गरे ।

लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीयको आर्थिक स्तर माथि उठाउन भूमिका निर्वाह गर्नुपर्ने बताए । सो भूमिका सिनर्जीले उत्कृष्ट रुपमा गरेको भन्दै उनले खुशी व्यक्त गरे ।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले बाणगंगा भित्रका सहकारीहरुलाई नियमन ,प्रर्वद्धन विकाससंगै अनुगमन गरिरहेको बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले सिनर्जी प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा विकास हुदैं गएकोमा खुशी व्यक्त गर्दै शेयर सदस्यहरुलाई ढुक्क हुने वातावरण बनाएको बताईन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद बेल्बासेले प्रशिक्षण दिएका थिए । सहकारीका अध्यक्ष बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्य, कपिलवस्तु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणानिधि भुसाल, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन सचिव कृष्ण प्रसाद न्यौपानेले गरेका थिए ।