दिपिका सुनार, बाणगंगा ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तु जिल्ला खुल्ला दिशा मुक्त घोषणा भएपनि पूर्ण रुपमा हुन नसकेको बताएका छन् । बुधबार जिल्ला समन्वय समितिको छैठांै जिल्ला सभामा उनले यस्तो बताएका हुन् ।
‘जति मात्रामा चर्पीहरु बनेका छन् त्यो भन्दा बढी बन्नुपर्ने हो । त्यसको उपयोग पनि सही मात्रामा नभएको देखिन्छ,’ उनले भने ।

उनले जिल्लाको समग्र विकासको लागी कुनै एक पालिका वा वडाले मात्र गरेर नहुने बताए । समग्र जिल्लाको विकास भए मात्र सबैको बिकास हुने उनको भनाई छ । उनले जिल्लाको साझा समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको दिगो समाधान खोज्ने दिशातर्फ लागेको सुनाए ।

उनले बालमैत्री जिल्ला घोषणा, लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि निती तथा कार्यक्रमहरु प्रभावकारी रुपमा संञ्चालन गर्ने बताए । जिल्ला समन्वय समितिका पूर्वप्रमुख नारायण प्रसाद खनालले छाडाचौपाया व्यवस्थापन गर्न तीन तीन वटा पालिकाहरु एकजुट भई लाग्न अनुरोध गरे ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगाभित्र छाडाचौपाया नियन्त्रण गर्न विभिन्न योजना बनाएर अघि बढेको बताए । उनले नगरका विभिन्न स्थानमा अल्पकालीन रुपमा हाल तारबारसहित ६ सय बढी छाडा पशु व्यवस्थापन गरिरहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुरेन्द्र प्रसाद बेल्बासेले गरेका थिए । कार्यक्रममा जिल्लाका १० पालिकाका प्रमुख, उपप्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।