कपिलवस्तु ।

उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै उद्योगी व्यवसायीको हकहितमा काम गरेर मन जितेको बताएको छ ।

स्थापना भएको एक वर्षको अवधीमा भए गरेका कामको प्रगती विवरण सार्वजनिक गर्दै उद्योगी व्यवसायीका समस्या र हक अधिकार र सामाजिक क्षेत्रमा उल्लेखीय काम गरेको सार्वजनिक गरेको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले बताए ।

२०७९ माघ १० गते सम्पन्न अधिवेशन पश्चात् खिमानन्द पौडेलको अध्यक्ष निर्वाचित कार्यसमितिले एकवर्षमा गरेका कार्यप्रगती मंगलबार संघको कार्यालयमा पत्रकार तथा सरोकारवाला समक्ष सार्वजनिक गरेको थियो ।उद्योगी व्यवसायीको पक्षमा आफुले निरन्तर काम गरिरहेको बताउदै उनले भने, एक वर्षकै अवधीमा संस्थागत पहिचानमा ठुलो सफलता हासिल गरेका छौं । संस्था स्थापना भएपछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराउदै व्यवसायी सम्वद्ध अन्य संघसंस्था, स्थानीय तहहरुले उद्योग व्यापार संघ कपिलवस्तुलाई फरक दृष्टिकोण राखेर विभेद गरेको समेत बताए ।

छोटो अवधीमै संघले गरेका राम्रा कामलाई पुराना भन्ने व्यवसायी संस्थाहरुले स्वीकार्न नसकेको समेत औल्याएका थिए । अझै पनि उद्योगी व्यवसायी संस्थाका अगुवा नेताहरुले आफुहरुलाई हेपाहा प्रवृतिको व्यवहार देखाउने गरेको बताएका छन् । उद्योगी व्यवसायीको हितमा निरन्तर आवाज उठाइरहदा र सामाजिक गतिविधीमा सकृय हुदाँ अन्य त्यस्तै प्रकृतिका संस्थाहरुले सकारात्मक नलिएको बताएका थिए ।

उनले संघले गरेको प्रगती सुनाउदै विभिन्न निकायहरु अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरीक राजश्व कार्यालयमा राजश्वको दर, कर सम्बन्धी महत्वपूर्ण लिखित सुझावहरु पेश गरेको बताए । अपांगता भएका व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने फाउण्ड परियोजना संगको सहकार्यमा १० जना अपांगता भएका व्यक्तिलाई रोजगारीमा जोड्ने प्रतिवद्धता पुरा गरेको र पहिलो वर्षमै क्यालेण्डर प्रकाशित गरेर जिल्लाको पहिचान र संस्थाको पहिचानमा महत्वपूर्ण टेवा पुराएको बताए ।

लोकतन्त्र दिवसमा रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा समर्पित संघले जिल्लाको दक्षिणी क्षेत्र पकडीमा समेत रक्तदान गरेर सामाजिक क्षेत्रको गतिविधी बढाएको थियो । मधौलिया सामुदायिक बन उद्यानमा विरुवा रोप्ने कार्य गरेर वातावरणीय स्वच्छता र सौन्दर्यकरणमा टेवा पुराएको छ । उद्योग व्यापारसंग सम्वन्धित कानुनी प्रावधान, अन्तशुल्क, साधारण कर, मूल्य अभिवृद्धि कर, अडिट, आय विवरण लगाएका विषयमा व्यवसायीलाई सहजीकरण गरेको छ । विभिन्न निकायसंगको सहकार्यमा कर सप्ताह, कर प्रशिक्षण संचालन तथा समय समयमा शुभकामना आदान प्रदान गरिएको संघले जनाएको छ ।


७ दशक लामो इतिहास बोकेको संस्थाले गर्न नसकेका कामहरु छोटो अवधीमै गरेर सफलता प्रमाणित गरेका छौं, उनले भने– हामी, संस्थालाई फुटाउन विभिन्न षडयन्त्र, अनर्गल प्रचार र आरोपका प्रयासहरु भए तरपनि सवै चुनौतीलाई पारगर्दै संस्था अघि बढीरहन सफल भयौं । कुनै राजनीतिक दलको गन्ध नदिईकन उद्योगी व्यवसायीलाई संगठित गरेर उनीहरुका हकहित र साझा मुद्धामा सदैव काममा प्रतिवद्ध छौं, अध्यक्ष पौडेलले भने ।
विना भन्सारका सामान आउदा नेपाली व्यवसायी धेरै मारमा परेको कुरा हामीले जोडदार माग गर्दै आएका छौं । कपिलवस्तुका भन्सार नाकाबाट १ सय भन्दा बढिको सामान आउदा अनिवार्य भन्सार गरेर आउनुपर्ने माग जिल्ला प्रशासन कार्यालय र अन्य सम्वन्धित निकायमा राखेका छौं । खुला सिमाना कारण विना भन्सार सामानहरु आउदा नेपाली व्यवसायी धेरै मारमा परेको बताइएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण, प्रवर्धन र विक्री वितरणमा सहज बनाउनु पर्ने आवश्यकता छ । नेपालमा विना भन्सार भारतीय बस्तुहरु सर्फ, चिनी, अन्य खाद्यवस्तुहरु खुलमखुला आइरहेको छ । जसले गर्दा नेपाली व्यवसायीहरु पीडित भएका छन् । विना भन्सारका सामान आउदा यहाँका व्यवसायीहरु धरासयी हुन थालेका छन् । गाय छाप सर्फ उत्पादन हुँदा नेपालमा लाखौ रकम राजश्वको रुपमा सरकारलाई बुझाउनुपर्दछ । तर त्यही प्रकृतिका सर्फ विना भन्सार नेपाल आउदा व्यवसायी ठुलो मारमा परेका छन् भने अर्कातिर राजश्व घाटा भएको बताएका थिए ।

यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री गोविन्द पोख्रेलले उद्योगी व्यवसायीका पिर मर्का बुझ्ने कोही नहुँदा व्यापार व्यवसाय धर्मराएको बताए । उनले यसको समस्या समाधान नदेखेर व्यवसायीहरू पलायनको बाटो रोज्न बाध्य भएको बताए ।

कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका अर्का सहमहामन्त्री जेपी पाण्डेले संघलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, अन्य पदाधिकारी, व्यवसायी, पत्रकारहरू कार्यक्रममा सहभागी थिए । यसैबीच उद्योग व्यापार संघ कपिलवस्तु आउदो माघ ३ गते भारतको राजधानी दिल्ली प्रगतीनगरमा लागेको उद्योग एक्जीवेसनको अवलोकनका लागि जाने भएको छ ।