साझा डायरी, बाणगंगा ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ भोलि विहिबार देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी सम्पन्न भएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा मंसिर २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी सकिएको सोसाईटिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार खाँणले बताउनुभएको छ ।

महोत्सवलाई सफल पार्नको लागि जिल्लाका हरेक क्षेत्रका व्यक्ति, संघसंस्थाहरुले सहयोग विश्वास लिएको संयोजक खाँणले बताउनुभयो । अहिलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने बताउँदै करिव डेढ करोड रुपैया बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।यसैबिच महोत्सवको उद्घाटन प्रतिनिध सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गर्नुहुने भएको छ । युवा पुस्तादेखि पुराना दुबै पुस्ता माझ लोकप्रिय बनेका भण्डारीलाई उद्घाटनका निम्ति आमन्त्रण गरेको महोत्सवका निर्देशक तथा बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) ले बताउनुभयो ।

यस्तै यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०र१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वधारणहरुको लागि ६० रुपैँया तोकिएको छ । निर्देशक क्षेत्रीले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो ।