काठमाडौँ ।
सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले शनिबारदेखि पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार नमस्ते वाइफाइु सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।
यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निशुल्क टेलिफोन र एमएमएस गर्न सकिने व्यवस्था गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यस्तै, सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर ९इटीसी०लाई सक्रिय बनाएको छ ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय भएको छ ।
त्यस्तै, टेलिफोन सेवा प्रदायकले सेवालाई प्रभावकारी बनाउन सम्पर्क बिन्दु र सम्पर्क व्यक्ति तोक्ने र निरन्तर सम्पर्कमा रहने पनि बैठकले गरेको छ ।बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाल टेलिकमका पदाधिकारीले भूकम्प प्रभावित क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए ।बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।