नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए । जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए । त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पुर्वसुचना प्रणाली स्थापनामा समेत सहयोग गरिने बताए ।
महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे ।
आजै लुम्बिनी भ्रमण गरी आएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गरे । नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पुर्याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारी दिए । त्यसबारे महासचिव गुटेरेसले खुसी व्यक्त गरे ।