काठमाडौं
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्।
मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन्।‘यो यहीँ रोकिनेवाला छैन भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरुद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।
‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ।’
कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको पनि बताए।