साझा डायरी, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ दरखास्तमा नागको मुर्तिको अनावरणसंगै नागमन्दिरको उद्घाटन गरिएको छ ।
सोमबार अर्थात आज आयोजना गरिएको एक कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, वडाध्यक्ष छविरेस्मी मगर, निवर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले संयुक्त रुपमा नागको मुर्तिको अनावरण गरेका हुन् । मुर्ति बाणगंगा नगरपालिका र वडा नम्बर ४ को संयुक्त लगानीमा निर्माण भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले नागपञ्चमीको शुभकामना दिदैं मुर्ति र मन्दिरको संरक्षण र सम्बद्र्धनमा नगर प्रतिवद्ध रहिरहने बताईन् । उनले वडा नम्बर ४ मा विगतमा पनि राम्रो काम भएको र अहिले पनि सौन्दर्यीकरण र सडक बत्ती जडान जस्ता विभिन्न नयाँ नयाँ उदाहरणीय योजनाका साथ काम भईरहेको भन्दै प्रशंसा गरिन् ।
फरक प्रसङ्गमा बोल्दै उनले यस बर्षबाटै बस पार्क निर्माणको काम सुरु हुने बताईन् । ‘छाडा पशुचौपयाको पनि धेरै नै समस्या छ । हामीले बुझेका छौ । बुझेर नै नगरपालिकाबाट प्रत्येक बर्ष ५०/६० लाख छुट्याउने गरेका छौं,’ उनले भनिन् ।
हरेक वडामा नै व्यवस्थाप गर्न सके छाडा पशुचौपयाको समस्या अन्त्य हुने उनको भनाई छ । उनले छाडा पशुचौपयाको समस्या राष्ट्रिय समस्या भएको बताईन् । ‘यो बाणगंगा नगरपालिकाको मात्र समस्या होईन् । यो राष्ट्रिय समस्या हो । खुला सिमाका कारण बाहिरका पशुहरु यहाँ आएको अवस्था छ,’ उनले भनिन् ।बाणगंगा नगरपालिका– ४ का वडाध्यक्ष छविरेस्मी मगरले नागपञ्चमीको शुभकामना दिदैं यो पर्वलाई नेपालीहरुले विशेष पर्वका रुपमा लिने गरेको बताए । उनले निवर्तमान वडाध्यक्षको टीमले सुरुवात गरेको कामको अपनत्व लिदैं आफु निर्वाचित भएपछि त्यस कामलाई अघि बढाएको स्मरण गरे । उनले नागको मुर्तिसंगै नागमन्दिरको वडाले संरक्षण र सौन्दर्यीकरण गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार जनहितका काम अहोरात्र खटने जिकिर गरेका छन् ।
निवर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले नागको मुर्ति र मन्दिरको बनाउन निर्माण समिति नै बनाएर काम भएको स्मरण गरे । उनले सबैको सहयोग र सक्रियताबाटै मुर्ति र मन्दिर निर्माण सफल भएको भन्दै खुशी व्यक्त गरे ।
नाग मन्दिर र नाग संरक्षण समितिका अध्यक्ष जंग बहादु मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन समितिका राम बहादु पन्तले गरेका थिए । उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।