कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. संजोग शिवाकोटी नियुक्त भएका छन् ।

शनिबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले जनरल सर्जन डा. संजोग शिवाकोटीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नगरप्रमुख चक्रपाणी अर्यालले डा. शिवाकोटी जस्तो दक्ष र अनुभवी चिकित्सक नेतृत्वमा आउँदा पिपरा अस्पतालले सेवा गुणस्तरमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अस्पताललाई जनमैत्री, दिगो र प्रभावकारी स्वास्थ्य सेवा केन्द्र बनाउने नगरको लक्ष्य पूरा गर्न अबको नेतृत्व महत्वपूर्ण हुने पनि बताउनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले अस्पतालको प्राविधिक तथा प्रशासनिक पक्ष दुवै सुदृढ बनाउन यस निर्णयले सहयोग पुग्ने बताउनुभयो । डा. शिवाकोटीले देखाउँदै आएका सक्रियता र समर्पणले अस्पतालको समग्र छवि अझ सुधारिने उहाँको विश्वास छ ।

व्यवस्थापन समितिको निर्णयसँगै अब अस्पतालका दैनिक सेवा, व्यवस्थापन तथा योजना कार्यान्वयनको समन्वय डा. शिवाकोटीले नेतृत्व गर्नेछन् ।