विजयनगर, २० मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रमका साथ मनाएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित ‘स्वयंसेविकाको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आयोजित कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको सहभागिता रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्वास्थ्य प्रवर्द्धनका मुख्य आधार रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा विगत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको उल्लेख गर्दै निरन्तर सेवामा उनीहरूको समर्पण अतुलनीय रहेको जनाए । साथै सेवासुविधाप्रति विशेष ध्यानाकर्षण भएको पनि बताए ।

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्य सेवामा स्वयंसेविकाहरूले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गरिन् । उनका अनुसार स्वयंसेविकाहरूको अहोरात्र खटाइका कारण गाउँपालिका स्वस्थ र सशक्त समुदाय निर्माणतर्फ अघि बढ्न सफल भएको छ ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्वयंसेविकाहरूको सक्रियता र मिहिनेतले गाउँपालिकामा महत्वपूर्ण स्वास्थ्य सूचकाङ्कमा सुधार आएको उल्लेख गर्दै आगामी दिनमा अझै समन्वय र सहकार्य आवश्यक रहेको औँल्याए ।

दिवसका वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा काम गर्न प्रोत्साहन गरेका थिए ।

कार्यक्रम स्वास्थ्य चौकी गणेशपुरका प्रमुख गौतम रायको स्वागत मन्तव्य र स्वास्थ्य शाखाका अधिकृत इन्द्र प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।