काठमाडौं ।

दुर्गा प्रसाईँले सरकारसमक्ष २७ बुँदे माग पेस गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान का प्रतिनिधिहरूले प्रदेश संरचना खारेजसहितका मागहरू बुझाएका हुन् ।

सरकारलाई माग पेस गरेपछि अभियानका सदस्यहरूले ती मागहरू सार्वजनिक रूपमा पढेर सुनाएका थिए । मागपत्रमा भनिएको छ, “नेपाल नेपालीले नै बनाउने हो ।

नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्छ । हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्छ । प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्छ ।”

त्यसैगरी, निजामती सेवा, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख रूपैयाँ कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने माग पनि गरिएको छ ।

साथै, खाडी मुलुकहरूमा कामदारका रूपमा गएर जेलमा रहेका करिब सात हजार नेपालीलाई स्वदेश फर्काउने, र युवाहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि अभियानले राखेको छ ।

आफ्ना माग बुझाउन अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा प्रतिनिधिमण्डल गृह मन्त्रालय पुगेको थियो ।