काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको विषयलाई महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई शुभकामना व्यक्त गर्दै राजनीतिक अस्थिरताको समयमा पनि लोकतान्त्रिक मूल्य र विश्वासलाई जोगाइराख्ने नेपाली जनताको प्रयासको प्रशंसा गरे ।

मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाको आगमनलाई ऐतिहासिक उपलब्धि बताउँदै नेपालको आगामी यात्रा शान्ति, स्थिरता र समृद्धितर्फ अग्रसर हुने विश्वास व्यक्त गरे ।

उनले कार्कीलाई १ सय ४० करोड भारतीय जनताको तर्फबाट बधाई दिँदै नेपाल–भारत सम्बन्ध साझा इतिहास, संस्कृति र आस्थाले गाँसिएको मित्रताको उदाहरण भएको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले हालै सम्पन्न जेनजी आन्दोलनपछि नेपालका युवायुवतीहरूले सार्वजनिक संरचनाहरूको सरसफाइ तथा रंगरोगनमा देखाएको सक्रियतालाई विशेष रूपमा उल्लेख गरे ।

उनले सामाजिक सञ्जालमा आएका तस्बिरहरू आफैंले पनि हेरेको भन्दै ती दृश्यहरू प्रेरणादायी मात्र नभई नयाँ नेपालको संकेतसमेत भएको बताए ।

उनले नेपाली युवाहरूले जुन भावना, मिहिनेत र सकारात्मक सोचका साथ सडक सरसफाइ र पुनर्निर्माणको काम गरिरहेका छन्, त्यसले देशभित्रको चेतना र परिवर्तनको गहिरो संकेत दिन्छ भनेका छन् ।

नेपालका लागि उज्ज्वल भविष्यको कामना गर्दै उनले नेपाली जनताको लोकतान्त्रिक आस्था र आत्मबललाई सम्मान प्रकट गरे ।