अर्घाखाँची । गोरुसिङे–सन्धिखर्क सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको अबिरल वर्षाका कारण बाटोमा ढुंगा, माटो र रुख ढलेको छ।

सडक अवरुद्ध भएपछि स्थानीयवासीहरूलाई आवतजावतमा ठूलो समस्या भएको छ भने बर्खे बाली बोक्न, बिरामीलाई अस्पताल लैजान र अत्यावश्यक सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ।

सुरक्षाकर्मी तथा सडक डिभिजनको टोलीले कठिन परिस्थितिका बाबजुद कडा मेहनतका साथ सडक खुलाउने प्रयास जारी राखेका छन्। अहिले स्काभेटर र अन्य उपकरणको सहयोगमा पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ।

सुरक्षा निकायले यात्रु र स्थानीयलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।